कार्तिक: ३०
बाँके: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लाहरुमा बिहानैदेखि देखिएको छ । पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ।
बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि पुरैरुपमा ठप्प छन। सहरका केही भित्री भागमा भने पसलहरु फाटफु खुलेका छन। कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन । बुटवलमा भने केही स्थानमा मात्र आन्दोलनकारीहरु रहेका छन। मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारीनै नभएको अवस्था छ। ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ ।
बन्द सफल पार्न भन्दै सोमबार साँझ जिल्ला जिल्लामा नेकपाका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका थिए । शिक्षण संस्थाले भने बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै आज विध्यालय सञ्चालन नहुने भदै सूचना नोटिस जारी गरेको छ। बन्दका कारण यात्रुहरुले भने सास्ती भोक्नुपरेको छ| विभिन्न स्थानमा यात्रुहरुले गाडी कुरिरहेको देखिन्छ। तर गाडी नपाउँदा उनीहरु अलपत्रमा परेको बताउँछन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थाको पूर्ण तयारी गरिएको बताएका छन ।