चैत:२१
बाँके: नेपाल सरकारले आईतवार देखी लागु हुने गरी नेपालगन्ज सहित देशभर यातायातको भाडादर बढाएको छ ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गते मन्त्रीस्तरबाट निर्णय गरि यात्रुवाहक गाडीको भाडामा १० प्रतिशत र मालवाहक गाडीको भाडामा १५ प्रतिशत सम्म भाडा बृद्धि गरेको छ।
यस्तैगरी पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाकारी दिएको छ ।
इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीहरुले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनकारी दिएको छ ।
अब इन्धनको मूल्य पाँच प्रतिशत भन्दा धेरैले घटबढ भएमा त्यो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।
गत असार यता डिजलको मूल्य ३४ प्रतिशतले बढेपछि सोही आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ ।विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ ।साथै भाडा समायोजन भएपनि सरकारले लक्षित समुहलाई दिदै आएको सहुलियत भने कायमै रहने व्यवस्था रहेको जानकारी दिएको छ ।
सरकारले गरेको भाडा समायोजन अनुसार दाङ तुलसीपुर देखी विरगन्ज सम्मको भाडादर प्रति व्यक्ति १०८४ , तुलसीपुर लमही हुदै सुर्खेत सम्म ७३५ ,रुकुम खलङगा देखी तुलसीपुर हुदै काठमाण्डौ सम्म १८५७, रोल्पाको लिवाङ हुदै काठमाण्डौ १४८७, सल्लीबजार देखी देवस्थल हुदै काठमाण्डौ सम्म १६८२, सल्यान काठमाण्डौ १३८६, दाङ तुलसीपुर नरायणगढ मुग्लिङ हुदै पोखरा १११०, दाङ तुलसीपुर नरायणगढ हुदै बाग्लुङ १३६५, दाङ तुलसीपुर स्याङजा बाग्लुङ १२५१, नेपालगन्ज रुकुम खलङगा ११९१, प्युठान भालुवाङ हुदै महेन्द्रनगर १०९३, तुलसीपुर हुदै पोखरा वालिङ ९९६, तुलसीपुर देखी विराटनगर १७८०, तुलसीपुर महेन्द्रनगर ९१४, नेपालगन्ज जाजरकोट ७६२, नेपालगन्ज देखी सल्लीबजार ४८० र काठमाण्डौ देखी प्युठान १२८२ रुपैया कायम गरिएको छ । सरकारले तराईको लामो दुरी ( २५०) किलोमिटर सम्म सार्वजनिक सवारी साधनको भाडादर प्रतिकिलोमिटर २ रुपैया ६७ पैसाका दरले भाडा बढाएको जानकारी दिएको छ ।