मन्त्री किराँतीलाई पितृ शोक: प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

 

भदौ ६,२०८०

बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पितृ शोक परेको छ ।  मन्त्री किराँतीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार  बिहान काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको हो ।

 

पिताको निधनपछि मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताउनुभएको छ । उहाँले आफ्नो बाँकी जीवन देशवासीहरूको सेवामा लगाउने बताउनुभएको छ ।

 

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली ! ’

यसैबीच  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  पर्यटनमन्त्री किराँतीलाई परेको पितृ शोकप्रति समवेदना प्रकट गर्नुभएको छ  ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले मन्त्री किराँतीप्रति समवेदना प्रकट गर्दै उहाँका बुबालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले लेख्नुभएको छ, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किराँतीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुःखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रकाशित: