नेपालगन्ज भन्सार कार्यालयको साउन महिनामा लक्ष्यको ७३.६७ प्रतिशत मात्रै राजस्व संकलन

२५ भाद्र २०८१, मंगलवार ०२:४५

सरला सुवेदी २५,भाद्र २०८१ बाँके।नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा तोकिएको राजस्व संकलन लक्ष्यको मात्र ७३ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयलाई साउन महिनाका लागि २ अर्ब ४ करोड १४ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। तर, भन्सार कार्यालयले जम्मा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ।

बिज्ञापन

 

बिज्ञापन

लगातार तीन वर्षदेखि राजस्व संकलन लक्ष्य प्राप्त गर्न असफल भएपछि भन्सार विभागले चालु आर्थिक वर्षका लागि करिब डेढ अर्ब रुपैयाँ घटाएर २७ अर्ब २० करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको थियो। यद्यपि, घटाइएको यो लक्ष्य समेत आर्थिक वर्षको पहिलो महिनामा पूरा हुन सकेन। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार, आर्थिक मन्दीका कारण आयात कम हुनुले राजस्व असुलीमा असर परेको छ। साथै, सरकारका विभिन्न नीतिगत समस्याका कारण पनि लक्ष्य पूरा गर्न कठिनाइ भएको बताइएको छ।

 

बिज्ञापन

भन्सार कार्यालयले नाका हुँदै आउने आयात खुम्चिँदा लक्ष्य भेट्न मुस्किल भइरहेको जनाएको छ। यद्यपि, यस वर्ष नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएसँगै एकद्वार प्रणालीबाट आयात-निर्यात गर्न सहज भएको छ। यसले व्यवसायका साथै कार्यालय व्यवस्थापनमा पनि सुधार ल्याएको हुँदा चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने आशा कार्यालयले राखेको छ।

 

एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि अव्यवस्थित गोदाम र भण्डारण व्यवस्थापनमा सुधार भएको, सामानको सुरक्षा र छिटो काम गर्ने वातावरण बनेको भए पनि, भन्सार कार्यलयमा अन्य विभिन्न समस्या भने यथावत रहेको पाइएको छ। राजस्व संकलनको लक्ष्य पूरा गर्नका लागि संचालनका क्रममा देखिएका साना-तिना समस्याहरु समाधान गर्नु आवश्यक छ। साथै, खुला सिमानाका कारण हुने चोरी पैठारी र निकासी नियन्त्रण गर्नेतर्फ पनि कदम चाल्नुपर्ने आवश्यकता रहेको भन्सार कार्यालयले जनाएको छ।

२५ भाद्र २०८१, मंगलवार ०२:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर