२८, भाद्र २०८१
बाँके । नेपालगन्जको फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पतालले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाका आँखा बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको छ। अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माका अनुसार, भदौ २३ गतेदेखि सुरु भएको यो शिविर असोज ६ गतेसम्म सञ्चालन हुनेछ।
बिज्ञापन
हालसम्म वडा नम्बर १ देखि ८ सम्मका शिविरहरूमा ५९१ जनाको आँखा परीक्षण भइसकेको छ, जसमा ७८ जनामा मोतीबिन्दु रोग पत्ता लागेको छ। शिविरमा आँखा परीक्षण मात्र नभई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिँदै आएको डा. बर्माले जानकारी दिनुभएको छ।
बिज्ञापन
शिविरको आगामी तालिका अनुसार, भदौ २७ गते वडा ९ स्थित सहरी स्वास्थ्य केन्द्र पिरअलीपूर्वा र वडा नम्बर १० स्थित सहरी स्वास्थ्य केन्द्र गोसाइँगाउँमा शिविर सञ्चालन हुनेछ। यस्तै, भदौ २८ गते वडा नम्बर ११ र १२ का विभिन्न स्वास्थ्य केन्द्रहरूमा पनि शिविर हुनेछ। असोज ६ गतेसम्म क्रमशः बाँकी वडाहरूमा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिने योजना छ।
शिविरमा पत्ता लागेका मोतीबिन्दुका बिरामीहरूलाई अस्पतालमा शल्यक्रियाका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। डा. बर्माका अनुसार, सामान्यतया आठ हजार रुपियाँ लाग्ने शल्यक्रियामा निःशुल्क शिविरमा भेटिएका बिरामीहरूका लागि चार हजार रुपियाँमा मात्र शल्यक्रिया गरिनेछ।
बिज्ञापन
यो शिविर नेपाल नेत्र ज्योति संघ, फत्ते बाल आँखा अस्पताल फुल्टेक्रा र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको छ। २३ वटै वडामा करिब दुई हजार जनाको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ भने तीन सय जना मोतीबिन्दुका बिरामी फेला पर्ने अनुमान गरिएको छ।
फत्ते बाल आँखा अस्पतालले यसअघि पनि विभिन्न जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्