शिक्षण अस्पताल कोहलपुरमा “क्यान्सर अस्पताल” शिलान्यास

२८ भाद्र २०८१, शुक्रबार ०९:३२

सरला सुवेदी
२८, भाद्र २०८१

बिज्ञापन

बाँके ।लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका अवसरहरू प्रदान गर्ने उद्देश्यले सन् १९९६ मा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गतको नेपालगञ्ज मेडिकल कलेजले आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ। विशेषगरी लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, र सुदूर पश्चिम प्रदेशका जनताका लागि विशेषज्ञ स्वास्थ्य सेवासहित गुणस्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले शुक्रबार एक विशेष कार्यक्रमका बिच शिक्षण अस्पताल कोहलपुरमा ‘क्यान्सर अस्पताल’ भवनको शिलान्यास र भूमि पूजन सम्पन्न गरेको छ।

बिज्ञापन

लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उप-निर्देशक श्याम कुमार शर्माका अनुसार यो क्यान्सर अस्पताल पश्चिम नेपालमा निजी क्षेत्रबाट सुरु गरिएको पहिलो अस्पताल हो, जसले यस क्षेत्रका क्यान्सर पीडित बिरामीहरूलाई अत्याधुनिक सेवा उपलब्ध गराउनेछ। शिलान्यास समारोहमा शर्माले अस्पतालको स्तरवृद्धि गर्दै विरामीहरूलाई सुविधा सम्पन्न उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।.

नेपालगञ्ज मेडिकल कलेजले हाल एमबिबिएस, एमडि, एमएस, बिएस्सि नर्सिङलगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा, यसै शैक्षिक सत्रदेखि थप बिडिएस (दन्त चिकित्सा), बिएमएलटी (मेडिकल ल्याब टेक्नोलोजी), र बिएमआइटी (मेडिकल इमेजिङ टेक्नोलोजी) कोर्सहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसले क्षेत्रीय विद्यार्थीहरूलाई विभिन्न शैक्षिक अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको शर्माले बताउनुभयो।

बिज्ञापन

स्वास्थ्य सेवाको क्षेत्रमा थप सुधार र विस्तार गर्न, नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज अस्पतालमा मुटुरोगसम्बन्धी विशिष्ट सेवा, क्याथ ल्याब सेवा, र इन्टरभेस्नल रेडियोलोजी सेवा आगामी महिना देखि सुरु गर्ने योजना बनाएको छ। यसका साथै, कोहलपुर अस्पतालमा ओन्कोलोजी विभाग स्थापना गरेर क्यान्सर उपचार सेवाको सुरुआत गरिने भएको छ। यसै अवसरमा क्यान्सर अस्पतालको भवन शिलान्यास गरिएको छ, जसले पश्चिम नेपालमा पहिलो पटक क्यान्सर उपचारको लागि सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरेको छ।

शर्माले स्वास्थ्य सेवाको सुधारमा यो प्रयासले लुम्बिनी क्षेत्रका बिरामीहरूलाई अत्याधुनिक सेवा प्रदान गर्ने र यसबाट जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा रहेको बताउनुभयो ।साथै, कोहलपुर र नेपालगञ्ज अस्पतालमा अत्याधुनिक उपकरणहरूको जडान प्रक्रिया अघि बढिरहेको जानकारी पनि गराइएको छ।

नेपालगञ्ज मेडिकल कलेजले सुलभ स्वास्थ्य सेवा तथा गुणस्तरीय शिक्षामा योगदान पुर्याइरहेको छ भने यसका भावी योजनाले जनस्वास्थ्यमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ। कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बी.एन.ले पश्चिम नेपालका जनताका लागि थप सेवा विस्तारका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

२८ भाद्र २०८१, शुक्रबार ०९:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर