सरला सुवेदी
१, असोज २०८१
बिज्ञापन
बाँके ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरुको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ। नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको स्पष्ट पार्नुभयो।
बिज्ञापन
उहाँले योजना कार्यान्वयनको नाममा भइरहेको आर्थिक अनियमितता रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामार्फत अघि बढाउने बताउँदै, यस कार्यमा प्रदेश सभा सदस्यहरूको पनि सहजीकरण आवश्यक रहेको धारणा राख्नुभयो। “आर्थिक बेथिति रोक्न प्रतिस्पर्धाको माध्यम अपनाएका छौं। एकै पालिकाभित्र धेरै योजना छन् भने तिनलाई जोडेर ठेक्का प्रक्रियामा लैजानुपर्छ,” उहाँले भन्नुभयो। साथै, बजेटले अधुरा कामहरूलाई आगामी वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो।
प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै प्रदेश सडक गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै, यसबारे जिल्ला तहमा छलफल गरी टुंगोमा पुर्याइने पनि मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो। “तीन हजार सडक छन्, तर के हामीले ती सबै धान्न सक्छौं?” भन्ने प्रश्न गर्दै उहाँले जिल्लामा छलफल गरी प्रदेशका लागि उपयुक्त सडकको निर्णय गरिने बताउनुभयो।
बिज्ञापन
बैठकमा संसदीय दलको विधान संशोधनका लागि उपसमिति गठन गरिएको छ। दलका उपनेता भोजप्रसाद श्रेष्ठ संयोजक रहने उक्त उपसमितिमा प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य छन्। साथै, बैठकले प्रदेश सभा सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्