२, असोज २०८१
बाँके । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ भव्य रूपमा मनाउँदै छ। आज, असोज २ गतेदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइने छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानलाई जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको छ। उहाँले सुशासन, सामाजिक न्याय, र समृद्धिको माध्यमबाट प्रदेशको समग्र विकासलाई अघि बढाउन संविधानको पूर्ण कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
असोज २ गते अर्थात् आजदेखि प्रदेशका सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराइनेछ। कार्यालय परिसरमा सरसफाइ गरिनेछ भने स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। प्रदेशका सरकारी निकायका वेबसाइटमा संविधान दिवसको महत्त्व र राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक सूचनाहरू पनि प्रकाशित गरिएको छ।
संविधान कार्यान्वयनको पहिलो दशकको उपलब्धि र चुनौतीबारे विज्ञहरूबीच छलफल कार्यक्रम आज लुम्बिनी हलमा आयोजना हुँदैछ। प्रदेश सरकारले नागरिकहरूलाई तीन दिनसम्म आ-आफ्ना घरमा दीपावली गर्न आग्रह गरिसकेको छ।
असोज ३ गते संविधान दिवसको मुख्य समारोह आयोजना गरिनेछ। विहान प्रभातफेरी तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ। मुल समारोह राप्ती उपत्यका देउखुरीस्थित प्रदेश राजधानीमा हुनेछ, जहाँ प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुनेछ। त्यहाँ निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम पनि गरिनेछ। १२ जिल्लाका अस्पतालहरूमा निःशुल्क प्रयोगशाला परीक्षण र आकस्मिक टिकट वितरण हुनेछ।
असोज ४ गते वृक्षारोपण कार्यक्रम आयोजना गरिनेछ, जसमा प्रदेश सरकारका मन्त्रालय र सम्बद्ध निकायहरूको सहभागिता रहनेछ।
प्रतिक्रिया दिनुहोस्