बाँकेमा मुख्य सचिवको गाडीमा ट्राफिक कारबाही

२० भाद्र २०८१, बिहीबार ०५:३६

२०, भाद्र २०८१
बाँके ।बाँकेको नेपालगन्जको पुस्पलालचोक नजिकै अव्यवस्थित पार्किङका कारण कर्णाली प्रदेशका मुख्य सचिवले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। कार्वाही स्वरुप २ हजार जरिवाना काटिएको छ।

बिज्ञापन

नेपालगन्जको यो क्षेत्रमा सधैंजसो सवारी साधनको चाप रहने हुँदा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी भएको छ। पछिल्लो समयमा बाँके जिल्लामा ट्राफिक व्यवस्थापनलाई थप कडा पार्दै सहरमा हुने अव्यवस्थित पार्किङलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ कारबाही थालेको छ।

बिज्ञापन

 

ट्राफिक प्रहरीको अनुसार, कर्णाली प्रदेशका मुख्य सचिव चुडामणि पौडेलले प्रयोग गर्दै आएको ००१ झ ०१५३ नम्बर प्लेटको स्कार्पियो गाडी पार्किङ स्थलमा नियम मिचेर राखिएको पाइएपछि कारबाही गरिएको हो। सरकारी गाडी भए तापनि नियमको पालना नगरेका कारण प्रहरीले कुनै छुट नगरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। ट्राफिक नियम सबैलाई समान रूपमा लागू हुने भन्दै बाँके ट्राफिकले उच्च अधिकारीका गाडीमाथि पनि कारबाही प्रक्रिया शुरु गरेको हो।

बिज्ञापन

 

बाँकेका ट्राफिक प्रमुखका अनुसार, पछिल्लो समय सहरमा ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले विभिन्न योजनाहरू अघि बढाइएका छन्। अव्यवस्थित पार्किङले गर्दा सहरको मुख्य स्थानमा सवारी आवागमनमा बाधा पुगिरहेको भन्दै ट्राफिक नियम कडाइ गरिएकाले सबैले यसमा ध्यान दिनुपर्ने बताइएको छ। सरकारी गाडी होस् वा निजी, सबैलाई ट्राफिक नियमअनुसार नै सवारी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिइएको छ।

नेपालगन्जको व्यस्त क्षेत्र पुस्पलालचोकमा अव्यवस्थित रूपमा सवारी साधन राख्दा सहरको यातायात व्यवस्थापनमा थप चुनौतीहरू देखिएका छन्। यस्तो अवस्थामा ट्राफिक प्रहरीले सहरवासीलाई जागरुक बनाउँदै अव्यवस्थित पार्किङमा कडाइका साथ कारबाही अघि बढाएको छ।

 

यस्तो कारबाहीले अन्य उच्च पदस्थ कर्मचारीहरूलाई पनि ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने विश्वास ट्राफिक प्रमुखले लिएका छन्। साथै, सहरका नागरिकलाई पनि ट्राफिक नियमको पालना गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

२० भाद्र २०८१, बिहीबार ०५:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर