खजुरा सडक र पुल निर्माणमा ढिलाइ, राजनीतिक दलहरूद्वारा आन्दोलनको चेतावनी

२८ भाद्र २०८१, शुक्रबार १२:१०

२८, भाद्र २०८१

बिज्ञापन

बाँके ।बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक निर्माण ठेकेदारबाट अलपत्र पारिएको र सोही सडकमा रहेको जीर्ण पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय राजनीतिक दलहरूले आन्दोलनको चेतावनी दिएका छन्। खजुरा गाउँपालिकाको गठबन्धन दलका नेताहरूले आज गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै १ महिनाभित्र पुलको टेन्डर र सडक निर्माण कार्य अघि नबढाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

बिज्ञापन

कांग्रेस र माओवादी केन्द्रका नेताहरूले पालिका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मन्जु मल्ललाई ज्ञापनपत्र बुझाएका छन्। सो ज्ञापनमार्फत प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी, र रत्न खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन र हुलाकी सडक निर्देशनालयलाई पनि सडक र पुल निर्माण तुरुन्त अघि बढाउन आग्रह गरिएको छ।

ज्ञापनपत्रमा २०७४ सालमा ठेक्का सम्झौता भए पनि पटक-पटक म्याद थप्दा पनि १ हजार ८ सय मिटर सडक अझै निर्माण नभएको र गरिएको काम अत्यन्तै गुणस्तरहीन भएको उल्लेख गरिएको छ। पेडारी नालाको जीर्ण पुल कहिल्यै खस्न सक्ने अवस्थामा पुगेको र वर्षामा पानी भरिएर आवतजावत बन्द हुने समस्याले स्थानीय जनतामा असन्तोष बढेको छ।

बिज्ञापन

ज्ञापनपत्र बुझाउने नेताहरूमा कांग्रेसका रमेश सिंजाली, राजेन्द्र आचार्य, र माओवादी केन्द्रका राजकुमार विक रहेका छन्। संघीय सरकारले गठबन्धन फेरिए पनि खजुरामा भने स्थानीय चुनावी गठबन्धन कायम राख्दै दलहरूबीच सहकार्य भइरहेको छ।

पालिकाका अध्यक्ष विकले असोज २५ भित्र पुलको टेन्डर प्रक्रिया अघि नबढे आफू सहित सम्पूर्ण जनप्रतिनिधिहरू सडकमा सुतेर आन्दोलन गर्ने घोषणा गर्नुभएको छ। उहाँले जनताको एकता र राजनीतिक दलको समर्थनमा सशक्त आन्दोलन गरिने बताउनुभएको छ।

खजुरा बजार क्षेत्रको सडक गुणस्तरहीन बनाउने ठेकेदारमाथि कारबाही गरिएको र ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवा उल्टो अदालतमा मुद्दा लिएर गएपछि सडक अलपत्र परेको हो। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा मुद्दा विचाराधीन छ। पटक-पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेको र सम्झौताविपरीत गुणस्तरहीन काम गरेको भन्दै ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।

खजुरा सडक लुम्बिनी प्रदेशको पश्चिम सिमाना हुँदै कैलाली जोड्ने मुख्य सडक खण्डमा पर्दछ।

 

२८ भाद्र २०८१, शुक्रबार १२:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर