२१, भाद्र २०८१
बाँके ।बर्दियाको मधुवन नगरपालिका-१ डल्लास्थित शिव सामुदायिक वन क्षेत्रमा गैडाको आक्रमणबाट नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ९ बजे गैडाको आक्रमण हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका-९ निवासी चौधरीले ज्यान गुमाउनु भएको छ।
यस घटनामा अमेरिकाको क्यालिफोर्नियाका नागरिक एमसी लेनडन पनि घाइते हुनु भएको छ। उहाँलाई तत्कालै उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, भुरिगाउँ पठाइएको छ।
स्थानीय बासिन्दाका अनुसार चौधरी र लेनडन शिव सामुदायिक वन क्षेत्रमा गैडा अवलोकन गर्न गएका थिए, जहाँ बच्चासहितको गैडाले उनीहरूलाई आक्रमण गरेको थियो। गैडासँग जम्काभेट भएपछि उक्त आक्रमण भएको हो।
घटना स्थल बर्दिया राष्ट्रिय निकुञ्जको डल्ला पोष्टदेखि २ सय मिटर पूर्वमा पर्छ, जहाँ हाल ३ वटा बच्चासहितको माउ गैडा र एउटा भाले गैडा बसोबास गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्