सिर्जना कला साहित्य प्रतिष्ठानद्वारा साहित्यकार पुष्कर रिजाल र चरित्रा शाहलाई सम्मान

२३ भाद्र २०८१, आईतवार १२:४२

सरला सुवेदी
२३, भाद्र २०८१
बाँके । सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष साहित्यकार पुष्कर रिजाल र ज्ञानोदय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा साहित्यकार चरित्रा शाहलाई पशुपति शाह स्मृति पुरस्कारबाट सम्मानित गरेको छ।

बिज्ञापन

बिज्ञापन

नेपालगन्जमा आयोजित कार्यक्रममा वि.स. २०८० र वि.स. २०८१ का लागि क्रमशः साहित्यकार रिजाल र शाहलाई १० हजार एक रुपियाँको चेक र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीले दुबै साहित्यकारलाई सम्मान गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार रेग्मीले बाँके जिल्लामा साहित्यिक गतिविधिहरूको बढ्दो प्रगतिको प्रशंसा गर्दै स्थानीय साहित्यकारहरूको योगदानलाई विशेष महत्व दिनुभयो। उहाँले साहित्यिक कृतिहरूको प्रकाशनमा आएको तिव्रताले साहित्यिक विकासमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो।

वि.स. २०७८ सालदेखि सुरु गरिएको यस पुरस्कारले स्थानीय साहित्यको उन्नयनमा योगदान पुर्‍याउँदै आएको आयोजक संस्थाले जनाएको छ।

यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा आयोजक संस्थाका अध्यक्ष शशिराम कार्कीको रूकुमका लोककथा, जितबहादुर शाहको ध्यानाकर्षण लघुकथा सङ्ग्रह, र गणेशा कार्कीको अभिलाषा मुक्तक सङ्ग्रहको विमोचन पनि गरिएको थियो। कार्यक्रमको समापनमा विभिन्न साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए, जसमा ऋषि शर्मा सुदामा, भूपेन्द्र शर्मा र प्रकाश मरासिनी प्रमुख थिए।

कार्यक्रममा पाँच दर्जनभन्दा बढी सर्जकहरूको उपस्थिति रहेको थियो।

२३ भाद्र २०८१, आईतवार १२:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर