२६, भाद्र २०८१
बाँके ।लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रूपमा तीन दिनसम्म विभिन्न कार्यक्रमहरूसहित मनाउने तयारी गरेको छ। नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सम्झनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले संविधान दिवसमा गरिने कार्यक्रमहरूको स्वीकृति दिएको छ। असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरिनेछ। असोज २ गते प्रदेशका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसर सफाइ गर्ने, र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने छ।
असोज ३ गते संविधान दिवसको मुल समारोह राप्ती उपत्यका देउखुरीमा आयोजना गरिने छ, जसमा प्रभातफेरी र सांस्कृतिक झाँकीहरू समावेश हुनेछन्। यसै दिनको कार्यक्रम प्रत्यक्ष प्रसारणका लागि आम सञ्चार माध्यमहरूलाई आह्वान गरिएको छ। असोज ४ गते वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने छ, जसका लागि सम्बन्धित मन्त्रालय र सरोकारवालाहरूको समन्वय गरिने छ।
आमा नागरिकलाई तीन दिनसम्म घरको छत वा वरण्डामा दीपावली गर्न पनि आह्वान गरिएको छ, जसले संविधान दिवसको महत्त्वलाई अझ विशेष बनाउने छ।
प्रतिक्रिया दिनुहोस्