१५९ औं मोती जयन्तीका अवसरमा काव्य गोष्ठी सम्पन्

१८ भाद्र २०८१, मंगलवार ०२:४१

१८, भाद्र २०८१

बिज्ञापन

बाँके ।१५९ औं मोती जयन्तीको अवसर पारेर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको रचना वाचन विभागले काव्य गोष्ठीको आयोजना गरी मोती जयन्ती मनाएको छ।

बिज्ञापन

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले नेपाली गजलका साथै समालोचना, कविता, र पत्रकारितामा मोतीराम भट्टको अतुलनीय योगदान रहेको बताए। उनले भक्तिधारा र वीर रसमा बहिरहेको नेपाली साहित्यको धारालाई श्रृङ्गारिक धारमा परिवर्तन गरी नयाँ युगको सुरूवात गरेको उल्लेख गर्दै मोतीराम भट्टको जीवनीबाट खुट्टा तान्नेहरूभन्दा हात तान्नेहरू नै जीवनमा स्थापित हुनसकेको उदाहरण दिन सकिने बताए।

बिज्ञापन

कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर रिजालले मोतीराम भट्टको बहुमुखी प्रतिभा र योगदानको सम्झना गर्दै मोतीरामप्रति समर्पित कविता सुनाएका थिए। उनले प्रतिष्ठानका साहित्यिक कार्यक्रम र भवन निर्माणका लागि सहयोगी हातहरूको आवश्यकता रहेको बताए।

 

मोतीराम भट्टको जीवनी र कृतित्वका बारेमा उप प्राध्यापक खोपीराम ओली क्षेत्रीले मोतीराम भट्टले छोटो समयमा नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएको बताउँदै उनी नेपाली साहित्यमा उदाहरणीय व्यक्तित्व रहेको उल्लेख गरे।

साना घरेलु महासंघ बाँकेका अध्यक्ष हेम विक्रम जिसीले पूर्णिमाका कार्यक्रमहरू लोभलाग्दा हुने गरेको बताउँदै यस प्रतिष्ठानले भाषा, साहित्य, र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुशी लागेको बताए। साहित्यकार सागर गैरेले पूर्णिमा साहित्य प्रतिष्ठानले पश्चिम क्षेत्रको भाषा, साहित्य, कला, र संस्कृतिको संरक्षणमा निरन्तर लागि परेको र पत्रिका प्रकाशन, पुस्तक प्रकाशन र रचना वाचनलाई प्राथमिकतामा राख्दै नयाँ स्रष्टाहरू जन्माउन सहयोग गरेको बताए।

कार्यक्रमका सभापति तथा रचना वाचन विभागका संयोजक प्रकाश मरासिनीले नेपाली साहित्यमा नयाँ सर्जक जन्माउन रचना वाचन कार्यक्रमलाई युवा तथा विद्यार्थीहरू माझ लैजाने र साहित्यिक योगदान दिने विशिष्ट व्यक्तित्वका जन्म जयन्तीमा यस्तै रचना वाचन कार्यक्रमहरू गर्दै जाने बताए।

 

कार्यक्रममा वरिष्ठ पत्रकार एवं तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु प्रसाद बोलबाले, ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्मा लगायत पाँच दर्जन जति साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा देवकी निरौला, बद्री ढकाल, हिरामणि, कासीराज अधिकारी, हुकुम धड्कन, बलराम काफ्ले, केशव निमेष, हरि त्रिपाठी, प्रकाश क्षितिज, विमला खत्री, आयुषा काफ्ले, श्रया पौडेल, सक्षम चालिसे, विपिन सिङ, अपि लम्साल लगायत दुई दर्जन बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए।

 

१८ भाद्र २०८१, मंगलवार ०२:४१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर