१८, भाद्र २०८१
बाँके । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक नेपालगञ्जमा दुई दिनसम्म चलेर सोमबार सम्पन्न भएको छ। बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन्। पहिलो दिन ५१ र दोस्रो दिन १९ जना गरी कुल ७० जना नेताहरुले प्रदेशमा पार्टीको गतिविधि र आगामी कार्यदिशाबारे आफ्नो विचार राखेका थिए।
बैठकमा नेताहरुले पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय, र समृद्धिमा आधारित समाजवाद निर्माणको कार्यदिशा सही भएको बताउँदै यसलाई थप परिस्कृत गर्दै ठोस कार्ययोजना अघि बढाउन सुझाव दिएका थिए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज तयार गर्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रम अन्तर्गत प्रदेश परामर्श बैठक सञ्चालन गरिरहेको छ। यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ।
माओवादी केन्द्रले भोलिदेखि पार्टीका विभिन्न आयोगमा रहेका केन्द्रीय नेताहरूसँग परामर्श लिने कार्यक्रम पनि सार्वजनिक गरेको छ। प्रदेश परामर्श बैठकपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्नेछ, जसले ठोस निर्णय गरेर नियमित कार्यलाई क्रमिक रूपमा जनतासम्म पुर्याउने माओवादी केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्